कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको बिरुद्धमा शनिबार हुने विरोध प्रर्दशनमा सहभागी हुन सबै लोकतन्त्रवादी नागरिकहरुमा अपील गरेका छन ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री आफैंले संसद विघटनलाई वैधानिक नभइ राजनीतिक विषय भनेकाले शनिबार हुने पालिका स्तरीय विरोध प्रदर्शनमा उत्रन सबैमा आपील गरेका हुन ।
वरिष्ठ नेता पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधानसँग डराइसकेको बताएका छन् । पौडेलले प्रधानमन्त्रीले आफ्नो निर्णयलाई राजनीतिक विषय भनेर प्रचारबाजी गर्नुले संविधानसँग उनी डराइसकेको पुष्टि भएको भन्दै अब अदालतको फैसलापछि भाग्ने दाबी गरेका छन् ।
‘केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन, राजनीतिक निणर्य हो, यसले संविधानमाथी क्षती पुगेको छ, ७० वर्षपछि टुंगो लागेको व्यवस्थामाथी प्रहार भएको छ,’ पौडेलले भिडियो सन्देशमा भनेका छन । उनले असंवैधानिक कदमको बिरुद्धमा डटेर आवाज उठाउँदा सर्वोच्च अदालतसम्म आवाज पुग्ने भन्दै शशक्त रुपमा प्रदर्शनमा उत्रन आफ्नो सन्देश मार्फत सबैमा अपील गरेका छन ।
देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने प्रपञ्च भएको हुनाले सारा जनताले डटेर आवाज पौडेलले भनेका छन् । कांग्रेसले १९ पुसको केन्द्रीय समिति बैठकबाट संसद विघटन बिरुद्ध ३३० प्रदेश निर्वाचन क्षेत्र, ७५३ स्थानीय तहका पालिका तथा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने निणर्य गरेको छ ।
कांग्रेसले केन्द्रीय समितिको निणर्य अनुसार नै भोली शनिबार देशभरमा ७५३ वटा पालिकाहरुमा सरकारको कदमका बिरुद्ध प्रदर्शन गर्दैछ । यसपछि ८ माघमा कांग्रेसले वडा स्तरमा प्रदर्शन गर्ने छ ।








