ओलीले पत्रकारलाई भाषा सिकाए : हिजो राजपरिवारलाई कसरी सम्बोधन गरिन्थ्यो ?



प्रधानमन्त्री केपी शर्मा ओलीले केही संञ्चार माध्यामले जनतालाई दिग्भ्रमित पारिरहेको आरोप लगाएका छन । प्रेस सङ्गठनको आफू निकट पत्रकारहरुको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभागृहमा संवोधन गर्दै उनले भने ‘अहिले देशको ठुलो समस्या पीत पत्रकारिता भएको छ, पीत पत्रकारिताबाट सावधान हुन म सबैलाई आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले पत्रकारले प्रयोग गर्ने भाषाका विषयमा असन्तुष्टि जनाए ।अंग्रेजी भाषाको प्रभावबाट आफ्नो भाषा बिर्सिएको भन्दै असन्तोष व्यक्त गरेका ओलीले दशक अघिसम्म राजा र राजपरिवारका विषयमा कस्तो भाषा प्रयोग गरिन्थ्यो भन्दै प्रश्न उठाए ।

“हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौँ ?,” ओलीले पत्रकारको भाषामा प्रश्न उठाउँदै भने, “ खानुभयो भन्दा खाइबक्स्यो भन्नुपथ्र्यो, हिड्नुभो भन्दा हिँडिबक्स्यो भन्नुपर्थ्यो । आज आएर खानुभयो हिँड्नुभयो भन्न पनि गाह्रो ?”

उनले पीत पत्रकारिता राष्ट्रिय हितमा नभएको बताए । उनले भने, ती व्यक्तिहरु पैसाका लागि स्वार्थमा फसेका छन्, उनीहरु आत्मा बेचेकाहरू हुन् र नर्कमा जान सक्छन् ।प्रधानमन्त्री ओलीले भनेका छन् जब मान्छेले आत्मा बेच्छ, त्यो ज्युँदै नर्क जान्छ, आज त्यो कोटिमा पत्रकारहरु नै परेका छन् ।

प्रकाशित मिति : माघ ८, २०७७ बिहिबार  ११ : ०८ बजे