कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र समाप्त पारेर मुलुकमा हुकुमी शासन सञ्चालन गर्न लागेको आरोप लगाएका छन् । संसद विघटन बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन अन्तर्गत काठमाडौंमा आयोजित बिरोध सभामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन ।
कम्युनिष्टहरुबाट देश, लोकतन्त्र, विकास र संविधान सुरक्षित छैन भनेर विगतदेखि नै आफुले भन्दै आइरहेको र त्यो ओलीले प्रमाणित गरेको समेत नेता पौडेलले बताए । ‘कम्युनिष्टको हातबाट देश सुरक्षित छैन, लोकतन्त्र सुरक्षित छैन, विकास सुरक्षित छैन, संविधान पनि सुरक्षित छैन, यिनीहरु समस्या जन्माउन सक्छन, निकास दिन सक्दैनन, वितण्डा मच्चाउन सक्छन, निकास दिन सक्दैनन,’ पौडेलले भने ।मुलुकमा ओलीको हुकुमी शासन मान्य नहुने पनि बरीष्ठ नेता पौडेलले उद्गोष गरे
“केपी ओलीको हुकुमी शासन स्वीकार्य छैन । संसद् विघटन अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो, राष्ट्रघाती कदम हो’ उनले भने । प्रधानमन्त्री ओलीले नेपाललाई विग्रहमा धकेलेको आरोप पनि पौडेलले लगाए । उनले कांग्रेसलाई सत्ताको लोभ नभएको पनि बताए । ‘अब चुनाव होला, मौका मिल्ला कुर्सीमा पुगौँला भन्नेमा हामी छैनौँ,’ उनले भने, ‘मुलुक अस्थिरतातर्फ धकेलिए के हुन्छ भन्ने हाम्रो चिन्ता हो ।
नेता पौडेलले अदालतले संविधानको रक्षा गर्दै जनता र लोकतन्त्रलाई न्याय दिने पनि बिश्वाश ब्यक्त गरे । पौडेलले संविधानमा कतै पनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको र प्रतिनिधि सभाले अर्को सरकार दिन नसकेको अवस्थामा मात्रै संसद विघटन हुने बताए ।








