प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज (आइतबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
संवैधानिक इजलासले शुक्रबार रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो ।
शुक्रबारको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गरेका थिए ।
बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।
शुक्रबारसम्मको सुनवाइमा १३ वटा रिटमध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ ।








