नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो साढे १२ बजे स्थायी कमिटी बैठक बोलाइएको सो समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, संसद विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने उनले बताए ।
संसद विघटनविरुद्ध शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।
शनिवार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड(नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।








