सुशील कोइरालाका सहोदर भाइ कांग्रेस नेता अशोक कोइरालाको निधन



नेपाली कांग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । संविधानसभा सदस्य समेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो । नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो ।

कोइराला परिवारका सदस्य अशोक नेपाली पूर्व काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्व। सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौँ सन्तानका रूपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर थिए । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए ।मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका कोइराला हाल कांग्रेस महासमिति सदस्य रहेका थिए । कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् । उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबारै मोरङको सिंघीया घाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०७७ बिहिबार  ४ : १९ बजे