गिरीजाप्रसाद कोइराला स्मृति दिवशमा ओखलढुंगामा पुस्तकालय स्थापना



नेपाली राजनीतिका शिखर व्यक्तित्व पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको ११ औ स्मृति दिवशमा पुस्तकालय स्थापना गरिएको छ । जि.पी कोइराला फाउण्डेशन जिल्ला शाखा ओखलढुंगाद्धारा सञ्चालित गिरीजाप्रसाद कोइराला पुस्तकालय कोइरालाको स्मृति दिवशको सन्दर्भमा आज उद्घाटन गरिएको हो ।

सिद्धिचरण नगरपालिका ११ गैरीगाउ स्थित जालपा मावीमा पुस्तकालय स्थापना गरी सञ्चालनमा ल्याईएको जिपी कोइराला फाउण्डेशन ओखलढुंगाका अध्यक्ष विनोद कुमार केसीले जानकारी दिनुभयो । विद्यालदयमा स्थापना गरिएको उक्त पुस्तकालयको भरपुर उपयोग हुने फाउण्डेशनले अपेक्षा गरेको छ । विद्यालयले उपलब्ध गराएयको एउटा कोठामा आवश्यक फर्निचर तथा पुस्तकहरु राखिएको छ । पुस्तकालय व्यवस्थापनका लागि सिद्धिचरण नगरपालिका वडा नम्बर ११ ले एक लाख बजेट विनियोजन गरेको वडा अध्यक्ष समेत रहनुभएका फाउण्डेशनका जिल्ला अध्यक्ष विनोद केसीले बताउनुभयो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा सिद्धिचरण नगरपालिका ओखलढुंगाका मेयर मोहन कुमार श्रेष्ठले गिरीजाप्रसाद कोइरालाल नेपाली कांग्रेसको मात्र नभइ सिंगो राजनीतिक आन्दोलन र शान्ति प्रकृयाका अभिभावक भएको बताउनुभयो । स्व. कोइरालाको नाममा स्थापीत पुस्तकालयको उपयोग गर्दै संरक्षण संबद्धनमा जि.पी कोइराला फाउण्डेशन ओखलढुंगा, विद्यालय परिवार संगैं सबैको भूमिका महत्वपूर्ण हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

गिरीजाप्रसाद कोइरालाको व्यक्तित्व, जिवन भोगाई र राजनीतिक संघर्ष, शान्ति प्रकृयामा वाहाले खेल्नुभएको भूमिका एवं योगदानका बारेमा जि.पि कोइराला फाउण्डेशन फर डेमोक्रेसी पीस एण्ड डेभ्लप्मेन्ट केन्द्रीय समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले चर्चा गर्नुभयो । लामो समयसम्म कोइरालालको सहयोगि समेत रहनुभएका दाहालको विशेष पहल र फाउण्डेशनका केन्द्रीय अध्यक्ष एवं कोइराला पुत्री सुजता कोइरालाको सहयोगमा पुस्तकालय स्थापना गरिएको बताइएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवारले गिरीजाबाबुको पालमा भएको संसद विघटन र त्यसपछि भएका संसद पूनःस्थापना पछि राजनीतिबृत्तमा वाहाले खेलेको सहमति र सहकार्यको भूमिका लाई स्मरण गर्दै वर्तमान सरकार अघि बढ्नुपर्ने बताउनुभयो । कांग्रेस उपसभापति तेजेन्द्र खनाल, महासमिति सदस्य टेकराज भट्टराई, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई, नेपाली कांग्रेस सुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य भोजकुमार श्रेष्ठ लगायत नेताहरुले नेपालको लोकतान्त्रीक आन्दोल र शान्ति प्रकृयामा पुर्याएको योगदान, प्रेस स्वतन्त्रता तथा ट्रेड युनियन अधिकारको सवालमा स्व.कोइरालाले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

गिरीजाप्रसाद कोइरालाको स्मृतिस्वरुप पुस्तकालय स्थापना गरेर जि.पी फाउण्डेशन ओखलढुंगाले विद्यालयलाई सहयोग गरेको हुँदा उक्त पुस्तकालयलाई पूर्ण सदुपयोग गर्दै संरक्षणमा लाग्ने विद्यालय जालपा माविका व्यवस्थापन समिति अध्यक्ष फडिन्द्र बहादुर खत्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो । गिरीजाप्रसाद कोइराला पुस्तकालयमा विद्यालय परिवार, विद्यार्थी देखि आम सर्वसाधारण नागरिकले अध्यान गर्न पाउनेगरी व्यवस्था गरिएको छ । पुस्तकालयमा राजनीतिक,आर्थिक,सामाजिक, भौगोलित, इतिहास, साहित्यीक लगायत विभिन्न विषयका पुस्तकहरु उपलब्ध छन् ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  १ : १० बजे