नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र लोकतन्त्रमाथि प्रहार गर्ने दुषप्रयास गर्ने प्रधानमन्त्रीलाई हटाउनु पर्ने बताउनु भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले संसद र लोकतन्त्रमाथि प्रहार गर्ने दुषप्रयास गर्ने प्रधानमन्त्रीलाई हटाएर लोकतन्त्र र यो ब्यबस्थाको संरक्षण गर्नुपर्ने बताउनु भएको हाे ।
उहाँले भन्नु भयो ‘ संसदमाथि , लोकतन्त्रमाथि प्रहार गर्ने दुषचेष्टा जस्ले ग¥यो त्यसलाई हटाएर लोकतन्त्र र यो ब्यबस्थाको संरक्षण गर्नु पर्छ ।’
साथै उहाँले लोकतन्त्र र ब्यबस्थाको संरक्षण गर्ने सरकार नेपाली कांग्रेसले दिनु पर्ने बताउनु भयो । कसैलाई अगाडी बढाएर हुन्छ, कि आफु नै अगाडी बढेर हुन्छ, केपी ओलीको बिकल्प दिनको लागी नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्ने उहाँकाे भनाइ थियाे ।
सर्वोच्चको फैसालाले तत्काल निर्वाचनमा जानको लागी रोकेको भन्दै नेता पौडेलले तत्काल निर्वाचनमा जान नहुने बताउनु भयो । पुनःस्थापित संसदबाट मुलुकलाई निकास दिनुपर्ने उहाँको भनाई थियो ।
जुन सन्देश, मौलिकता र सपना बोकेर नेपाली कांग्रेस जन्मीयो त्यो हामीले बिर्सेर दुःख पायौं । हामीले हाम्रा एजेन्डा र पहिचान बिर्सेका छौ, भन्दै नेता पौडेलले आफुहरुले आत्माआलोचना गर्ने बेला आएको बताउनु भयो ।








