सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२/२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।
जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्नुहुँदै उहाँले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताउनुभयो ।
“विसं २०६२÷२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत घटनाले पनि कोइरालाको साहसलाई प्रमाणित गर्छ”, सभामुख सापकोटाले भन्नुभयो ।
कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले कलेजलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने योजनामा आफ्नो साथ रहने उहाँको प्रतिबद्धता छ । पुनःस्थापित प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गर्ने सभामुख सापकोटाको विश्वास छ ।








