सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिन्छौं : प्रचण्ड



माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले  यस्तो बताएका हुन । प्रचण्डलेभने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ।’

दाहालले आफूलाई अहिले अविश्वास प्रस्ताव लैजान तत्कालै दबाव रहेको बताए।‘हत्तपत्त लग्यो भने उल्टिन्छ भन्ने एक किसिमको जबरजस्त दबाव छ,’ दाहालले भने, ‘तर, दुई चार दिन पर्खिन्छु, बरू राजनीति जतासुकै जाओस्, मेरो राजनीतिक नैतिकता छ, म अगाडि बढाउँछु, न्यूनतम् समर्थन खोजेर अविश्वास बढ्छ।’

‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु । त्यसलाई मैले समर्थन गरिरहन सक्दिन, चाहे राजनीति जतासुकै जाओस्’ उनले अघि भने, ‘मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

यद्यपि आफ्नो प्रयास अहिले पनि संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्ने रहेको उनले बताए । प्रचण्डले अघि भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।’

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  १ : २६ बजे