प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका नौ राजनीतिक दलले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्धमा आन्दोलनको घोषणा गरेका छन ।नेपाली जनताले गरेको बलादानिपूर्वक संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास भएको भन्दै झापाका नौ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको बिरुद्धमा बिरुद्धमा आन्दोलनको घोषणा गरेका हुन ।
मुलुकलाई जननिर्वाचित प्रतिनिधिसभाबिहीन बनाएर अध्यादेशको भरमा राष्ट्र सञ्चालन गर्ने कार्यले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने बिज्ञप्तिमा जनाइएको छ ।बिज्ञप्तिमा प्रधानमन्त्री ओलि र राष्ट्रपती भण्डारिको गुटगत षढ्यन्त्रको शिकार बनेको प्रतीनिधिसभा पुनर्स्थापित गर्नुको बिकल्प नभएको उल्लेख गरिएको छ ।
आफुसँग विश्वासको मत लिन सक्ने आधार नभएकाले नयाँ सरकार गठनका लागि संविधान को धारा ७६ को ५ बमोजिम राष्ट्रपतिकोमा आफुले सिफारिस गरेको बताउने ओलीले आधा घण्टाभित्रै आफुसँग सरकार बनाउने बहुमतको आधार रहेको भनी राष्ट्रपतिसमक्ष दाबी पेश गर्नु पाखण्डीपन भएको पनि बिज्ञप्तिमा जनाइएको छ ।नक्कली राष्ट्रवादको नारा फलाकेर देश र जनतालाई झुक्याउँदै आएका ओलीले एकपछि अर्को लोकतन्त्रविरोधी, राष्ट्रघाती कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नौ राजनीतिक दलको संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव मणिकुमार साम्पाङ (बिजय), जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, नेकपा एमालेको माधव नेपाल समूहका जिल्ला अध्यक्ष बेदराज रेग्मी, बहुल राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पङ्ग्धाक, विवेकशील साझा पार्टीका झापा अध्यक्ष मेदनी प्रसाई, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रकाश थम्देन र राष्ट्रिय जनमोर्चाका झापा अध्यक्ष सन्तोष तामाङले हस्ताक्षर गरेका छन् ।









