कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुलाई गरेको टिप्पणिप्रती आक्रोश पोखेका छन ।प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालोकोट धारी अराजक झुण्ड भन्दै कानून व्यवसायीहरुमाथी अभद्र भाषा प्रयोग गरेका थिए ।
कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुमाथि गरेको मानमर्दन हारेको मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।नेता कोइरालाले कालो कोटधारीहरुकै प्रयासमा नेपालमा गणतन्त्र आएको बिर्सन नहुने तर्क गरेका छन्।
उनले भनेका छन्, ‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए। आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ। कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका छन्।
कोइरालाले कानून व्यवसायीहरु लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उपहास समेत भएको बताएका छन् ।
कोइरालाले सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेको टिप्पणि
सन्दर्भः प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी:
१ . हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?
२ . तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।
३ . पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।
सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।








