प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट बाहिरिएका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पुर्नगठित मन्त्रिपरिषदलाई शुभकामना दिएका छन् प्रधानमन्त्री ओलीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएर सरकारमा ल्याएपछि उनले मन्त्रीबाट हट्ने निर्णय गरेका हुन् ।‘कोभिड नियन्त्रणका लागि जे जती काम गर्न सकें त्यसमा खुसी छु, म महामारीको चुनौतीलाई सामना गर्न नसकेर भागेको होइन, एक थान मन्त्रीका लागि बसिरहन नैतिक प्रश्न उब्जिएकाले हटेको हुँ,’ त्रिपाठीले भने ।
राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा उपप्रधानमन्त्रीसहित माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको उनले बताए ।
‘जुनियर साथीहरु उपप्रधानमन्त्री बन्नु भयो, उहाँहरुलाई हार्दिक शुभकामना छ,’ निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले भने । उनले विगतको निर्वाचनमा आफूलाई सूर्य चिन्हबाट चुनावमा उठ्दा ओलीसँग मिल्यो भनेर तथानाम भन्नेहरु अहिले ओलीसँग नै नजिक हुँदा आफूलाई राजनीतिक लाइनमा विजयी बनेको महसुस भएकोसमेत बताए ।








