कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : भदौ १६-१९ मा महाधिवेशन गर्ने निर्णय



नेपाली काँग्रेसको महाधिवेशनको मिति र तल्लो इकाईको अधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकद्वारा पारित भएको छ । आज बसेको बैठकले संशोधनसहित कार्यतालिका पारित गरेको हो ।गत शनिवार सम्पन्न कांग्रेस पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरे पनि बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थप ६ दिन पर सार्दै साउन १२ गतेदेखि अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

काँग्रेसको नयाँ कार्यतालिका पारित गर्दै १२ साउनबाट वडा तहबाट अधिवेशन थाल्ने भएको छ । पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि हेरफेरि गरिएको छ ।काँग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुने भएको छ । यसलाई पनि बैठकले पारित गरेको छ ।

काँग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउन २० असारसम्मको समय दिइएको छ ।क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता सम्बन्धी विवाद समयमै टुंग्याउने प्रतिबद्धता जनाएका छन् ।लेखकले छानविन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा प्रभावित हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : असार ३, २०७८ बिहिबार  १ : १३ बजे