काठमाडौं । पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नहटाउने संकेत गरेको छ। प्रधानमन्त्री देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने,‘हामी छुचो कामतिर लाग्दैनौं। काम गर्दै जाँदा प्रदेश प्रमुखले असजिलो बनाए भने अर्कै कुरा हो। परिवर्तन गर्ने सोच हामीले बनाएका छैनौं।’
देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई तत्कालीन नेकपा सरकारले २०७६ को कात्तिकमा हटाएको थियो। पूर्वएमाले र माओवादी केन्द्रलाई भागबण्डामा प्रदेश प्रमुख बाँडिएको थियो।
सर्वोच्च अदालतको फैसलापश्चात् एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केपी ओली सरकारले माओवादी धारका प्रदेश प्रमुख हटाउन थालेको थियो। गत फागुनमा प्रदेश २ का मुख्यमन्त्री तिलक परियारलाई हटाइएको थियो। उनको ठाउँमा ओलीनिकट राजेश झालाई जिम्मेवारी दिइएको छ। गत वैशाखमा गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख हटाइए। एमालेका ओली पक्षका दुई जनालाई जिम्मेवारी दिइएको छ। गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादव नियुक्त पाएका थिए। गण्डकी र सुदूरपश्चिममा माओवादी निकट क्रमशः अमिक शेरचन र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखबाट हटाएर पौडेल र यादवलाई नियुक्त गरिएको थियो।








