काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले १७ मन्त्रालयको जिम्मेवारी लिएका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त देउवाले मंगलबार साँझ सपल लिएका उनले १७ मन्त्रालयको जिम्मेवारी लिएका हुन्।
उनले आफ्नो दल काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून तथा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, जलश्रोत र सिंचाइमन्त्री नियुक्त गरेपनि बाँकी मन्त्रालयको जिम्मेवारी भने मन्त्रिपरिषद विस्तार नहुँदासम्म देउवाले नै पाएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्रीसहित उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै देउवाले रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।








