काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा माधव कुमार नेपालको लागि कुनै ठाँउ नरहेको बताएका छन् । प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाएका छन्।
बालकोट निवासमा पुगेपछि बार्दलीबाट सम्बोधन गर्दै ओलीले भने, ‘जनताको अधिकार खोसिएको छ। अदालतबाट प्रधानमन्त्री छान्ने जात्रा देखाइएको छ।’
ओलीले नेकपा (एमाले) मा नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको भन्दै नेपालविरुद्ध झनै आक्रामक भएका हुन्। मंगलवारको विदाई सम्बोधनमा पनि ओलीले नेपाललाई ‘अराजक’को संज्ञा दिएका थिए।
बुधवार बालकोटमा पुगेपछि ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरु। पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ छैन।’
ओलीले आफ्नो सरकारले सबैलाई पुग्ने गरि खोप ल्याएको दावी समेत दोहोर्याए। आफूहरुले खोप ल्याइसकेपछि शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले भने खोप ल्याउने भनिरहेको उनको दावी थियो।








