बिहीबार (आज) को लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक लगातार दोस्रो दिन पनि स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण स्थगित गरी बिहीबारका लागि बोलाइएको थियो । बिहीबारको लागि बोलाइएको बैठक पनि देउवाकै कार्यव्यस्तताका कारण सरेको छ । बैठक अब शुक्रबार दिउँसो २ बजे बस्ने कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सरकारका प्राथमिकता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी रहेको छ । सर्वोच्च अदालतले गत सोमबार फैसला सुनाउँदै संसद ब्यूँताएर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेसँगै मंगलबार राति देउवाले शपथ लिएका छन् ।
कांग्रेसमा असारभित्रै क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिएको छ । बिहीबार अन्तिम दिन भनिए पनि विवाद अझै सुल्झेको छैन । विवादकै कारण बारा जिल्लाका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नारत छन् ।क्रियाशील सदस्यता बिबाद नटुङ्गिए पार्टिको घोसित महाधिबेशन कार्यतालिका फेरी प्रभाबित हुने पार्टिका नेताहरु बताउछन ।










