सांसद र केन्द्रीय सदस्य किन तानातान गर्दैछन् नेपाल



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाउने तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्ने रणनीति बनाएउदै अब एमाले अध्यक्षबाट सकेसम्म ओलीलाई हटाउने नसके पार्टी फुटाउने गरी वार कि पार गर्ने रणनितीमा नेपाल पुगेका हुन् ।

नेपाल नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीका हाल रहेको २०३ सदस्यमध्ये १०२ भन्दा बढी बनाउने प्रयासमा छन् । एमालेको केन्द्रीय कमिटीमा बहुमत बनाउन नेपाललाई उपाध्यक्ष बामदेव गौतमले पनि साथ दिइरहेका छन् ।

अर्का उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाललगायतको हस्तीहरुले साथ दिएमा बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ । त्यसैले नेपाल रावललाई फकाउन हिजो टोखास्थित उनकै निवासमा पुगेका थिए ।

ओलीलाई अध्यक्षबाट हटाउन सकेमा एमाले नफुट्ने एकाथरीको विश्वास रहन थालेको छ । माधव नेपालले आफ्नो पक्षलाई एक राख्नुपर्ने र बामेदव गौतम पनि निकै सक्रिय भएर लागेमा मात्र सम्भव हुनसक्ने देखिएपनि सजिलो भने हुने छैन ।

एमालेभित्र ओलीलाई अल्पमतमा पार्न नेपाल पक्षले प्रयास गरेपछि ओलीले पार्टी एकताको प्रयास पुनः जारी राखेर अलमलाउन खोजेका छन् । नेपालले अबको केही दिन एमालेमा बहुमत बनाउन प्रयास गर्ने र नसकेमा पार्टी विभाजनको कदमतिर जाने निश्चितप्रायः भएकाले अन्तिम प्रयास चलिरहेको छ ।

एमालेबाट बढीभन्दा बढी केन्द्रीय सदस्य र सांसद तान्न माधव नेपाल सक्रिय भएका छन् । उनलाई बामेदव गौतमले निकै साथ दिइरहेका छन् । ओलीले पनि नेपाल पक्षका नेताहरुलाई तान्न राजनीतिक लेनदेनको प्रस्ताव पठाइरहेका छन् । यसले एमालेभित्र सांसद र केन्द्रीय सदस्य तानातानको अवस्था देखिएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहिबार  १० : ३८ बजे