हिजो सरकारमा जान्न भन्नेलाई अहिले बधाई दिनुपर्यो : नेम्वाङ



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले हिजो सरकारमा जान्न भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रतिनिधिसभाको बैठकमा नेम्वाङले परमादेशबाट प्रधानमन्त्री चयन भएको भन्दै आलोचना गरेका छन् ।

‘मन्त्रिपरिषद् गठनको विषयमा नै प्रधानमन्त्री देउवाले हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन्, त्यसकारण म सरकारमा जान्न भन्नुभएको थियो । तर अहिले त बधाई दिनुपर्ने अवस्था आयो,’ नेम्वाङले भने, ‘अहिले सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्छ र बधाई दिँदैछु । कहिले जनादेश प्राप्त भएछ थाहा छैन ।’

संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको जनताको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ थियो । उनले भने, ‘यो पहिलोपटक हो, संसद्‍बाट होइन, जनताको जनादेशबाट होइन तर सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं ।’

जनादेशमा जाने कुरालाई निरंकुश भन्ने कुरा गलत भएको पनि नेम्वाङको भनाइ थियो । तर सर्वोच्च अदालतले राज्यका तीन अंगबीचको शक्ति सन्तुलन खलबलिएको आरोप लगाए ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  २ : ०२ बजे