नारदमुनिको अभिव्यक्तिले संसदीय समितिमा हंगामा



एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाको बोलीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको छ । समितीमा आफ्नो बोल्ने पालो आएपछि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिँदैमन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरे । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका छन् ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  २ : ०० बजे