नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका छन् । अखिल नेपाल महिला संघको बैठकलाई आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले अदालतको निर्णयले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको र यसलाई सच्याउन कठिन रहेको बताएका हुन्।
‘पार्टी विरोधी गतिविधि गरेकाहरू अहिलेसम्म सफल भए । पार्टीलाई सरकारबाट ढाल्न प्रतिगमन गराउन सफल भए, अब देश धेरै अप्ठेरो मोडमा पुगेको छ,’ ओलीले भने, ‘यो प्रतिगमन सच्चिन सजिलो छैन, धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ देश अप्ठेरो मोडमा पुगेको छ ।’
एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको ओलीको भनाइ थियो । माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले माधव पार्टीमा अपराध कर्मको नेतृत्व गरेका नेता फर्किनेमा आशा नगरेको बताए। ‘प्रतिक्रियावादीसँग भित्री साँठगाँठ सरकार ढाल्ने र पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । सांसदलाई झुक्काएर या प्रलोभनमा पारेर झुक्काइरहेको देखेका छन्,’ ओलीले भने, ‘साथीहरू पार्टीले क्षमा गर्छ, पार्टीमा फर्किनुस् ।’








