प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‌ विस्तार तयारी गरेका छन्। बालुवाटार स्रुतका अनुसार प्रधानमन्त्रीले आज केही मन्त्री थप गर्न लागेका हुन् ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले हालसम्म ६ सदस्यीय मात्रै बनाउन सकेका छन्‌। देउवाले  आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। त्यसपछि देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले १७ मन्त्रालयको जिम्मेवारी लिएका छन् । संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा नियुक्त देउवाले १७ मन्त्रालयको जिम्मेवारी लिएका हुन्।

उनले आफ्नो दल काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून तथा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, जलश्रोत र सिंचाइमन्त्री नियुक्त गरेपनि बाँकी मन्त्रालयको जिम्मेवारी भने मन्त्रिपरिषद विस्तार नहुँदासम्म देउवाले नै पाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्रीसहित उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै देउवाले रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  १२ : ४७ बजे