कांग्रेसमा क्रियाशील सदस्य : कुन प्रदेशमा कति, कुन उमेर समुह कति ?



नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदनमा पुराना भन्दा नयाँ क्रियाशील सदस्य बढी छन्। मंगलबार कांग्रेसको १४औं महाधिवेशनका लागि आठ लाख ५२ हजार ७१२ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको थियो, जसमा नयाँ चार लाख ४३ हजार ६७८ र नविकरण गरिएका चार लाख नौ हजार ३३ जना छन्।

कांग्रेसको आगामी महाधिवेशनका लागि क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र एक लाख ९९ हजार ९७ जना महिला छन् भने १७६ जना तेस्रो लिंगीले पनि सदस्यता पाएका हुन् ।

प्रतिवेदनअनुसार उमेर समूहअनुसार, सबैभन्दा बढी ४१ देखि ६० वर्षका छन्। यो उमेर समूहका तीन लाख २८ हजार २३४ जनाले सदस्यता पाएका छन्।

यस्तै, १६ देखि २५ वर्षसम्मका ४० हजार ४२७ जना र २६ देखि ४० वर्षसम्मका दुई लाख ४९ हजार ७७४ जना सदस्य बनेका छन्। ६१ देखि ७५ वर्षसम्मका ८३ हजार १० र ७५ वर्षभन्दा माथिका १।३३ प्रतिशत अर्थात ११ हजार ७८२ सदस्य छन्।

प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा एक लाख ८६ हजार १४३ जना सदस्य बनेका छन्। जसमध्ये नयाँ ९६ हजार ३२८ र नविकरण गरेका ८९ हजार ८१५ जना छन्।

त्यस्तै, प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६ र गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ जना सदस्य बनेका छन्। लुम्बिनीमा एक लाख ३० हजार ८८५, कर्णालीमा ५४ हजार ५६६ र सुदूरपश्चिममा ७४ हजार ७५६ जना क्रियाशील सदस्य बनेका छन्।

सबै प्रदेशमा नयाँ सदस्य नै बढी छन्। प्रदेश १ मा ८९ हजार २९० नयाँ र ८५ हजार ४९२ नविकरण, प्रदेश २ मा ५९ हजार ४६५ नयाँ र ५३ हजार ४८१ नविकरण तथा गण्डकीमा ६१ हजार ५२४ नयाँ र ५७ हजार १०९ नविकरण गरिएका छन्।

यस्तै, लुम्बिनीमा ६७ हजार ११६ नयाँ र ६३ हजार ७६९ नविकरण, कर्णालीमा ३० हजार ९१७ नयाँ र २३ हजार ५४९ नविकरण तथा सुदूरपश्चिममा ३९ हजार ३८ नयाँ र ३५ हजार ७१८ नविकरण गरिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा बनेको छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। अब देउवाले हस्ताक्षर गरेर निर्वाचन समितिलाई प्रदान गरेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  १ : ०३ बजे