जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका नेताहरु छलफलमा जुटेका छन् । सोमवार निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाएका ठाकुर पक्षले आउँदो रणनीतिबारे छलफल सुरु गरेको हो ।
उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले छलफलमा जुटेका हुन् । आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कल प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु गरिएको छ ।’
‘ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौँ । अहिले पनि विपक्षमा बस्छौँ’, नेता कर्णले सञ्चारकर्मीमाझ स्पष्ट पार्नुभयो, ‘हामी सरकारमा सहभागी हुँदैनौँ ।’








