सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, को-को भए सहभागी



एमाले माधव नेपाल समूहका नेता डा. विजय पौडेल सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक सहभागी भएका छन् । बुधबार सुरु भएको बैठकमा नेपाल पक्ष समेत बैठकमा सहभागी भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने स्रोतको दावि रहेको छ ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल समूहबाट डा. पौडेल सहभागी रहेको बालुवाटार स्रोतले बतायो ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।

अब जनता समाजवादी पार्टी (जसपा)लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट एक नेताले बताए ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  १० : ०३ बजे