कांग्रेसमा देउवा, पौडेल र सिटौला छलफलमा जुट्ने



नेपाली कांग्रेसका सभपती शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ। पार्टीमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न नेताहरुको बैठक बस्ने भएको हो ।

बिहीबार बसेको पदाधिकारी बैठकले शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद हल गर्न नसकेका विषय शीर्ष नेतृत्वलाई सुम्पेका थिए।

क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान गर्न शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक राखिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी हुनेछन्। कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ।

विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ। अधिवेशनका लागि अर्को मिति तोकिएको छैन।

क्रियाशीलमा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा २० दिनदेखि धर्ना दिइरहेका छन्।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ११ : ०१ बजे