माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने भएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन् भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाए पनि मन्त्रिपरिषदलाई अझै पूर्णता भने दिन सकेका छैनन् ।

यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेको बेला अब भने विस्तारको तयारी भएको हो ।

सोहीअनुरुप माओवादी केन्द्रको स्थायी कमिटी सोमबार बस्न लागेको हो । दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको बैठक मन्त्री छनोटमै केन्द्रीत हुने एक नेताले जानकारी दिए ।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल समूह सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  ९ : १९ बजे