सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

त्यस क्रममा उनले आफूले काम गरिरहेका व्यावसायिक संस्थाहरूबाट अलग भइसकेको पनि जनाए ।

राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्ययोजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताए ।

उनले आफ्ना निजी व्यवसायबाट कानुनी रुपमा आफू अलग भएको घोषणा गर्दै भने, ‘राज्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि व्यक्तिगत व्यवसायबाट अलग हुने निर्णय गरेको छु। पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि व्यापार व्यवसायमा संलग्न नहुने घोषणा गर्दछु।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : श्रावण १८, २०७८ सोमबार  १२ : ३९ बजे