भुटान सरकारले नेपाललाई दिने कोरोना विरुद्धको खोप ज्येष्ठ नागरिकलाई दिइने भएको छ । भुटान सरकारले दिने तीन लाख डोज खोप सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइने भएको हो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भुटानले नेपाललई दिने भनिएको खोप दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिइने बताएका हुन् ।
भुटानले नेपाललई आफूसँग स्टकमा रहेको ३ लाख डोज एष्ट्राजेनिका खोप उपलब्ध गराउन लागेको हो ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् ।
उनकाअनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।
चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए ।
१२ देखि १८ वर्ष उमेर समूहलाई हुने फाइजरको ६० लाख खोप खरिद प्रक्रिया प्रारम्भ भएको बताए ।
हालसम्म ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने उनले बताए ।








