एमाले नेता तथा सांसद विरोध खतिवडाले माओवादी नै हौं भन्दै अदालतलाई ढाँट्ने नक्कली एमाले भएका नेताहरुको बारेमा पार्टीले केहि सोच्नुपर्ने बताएका छन् । खतिवडाले एमालेको नियमित बैठक तथा अन्य गतिविधिमा सहभागी भैरहेका चार जना सांसदले अदालतलाई ढाँटेको बताएका हुन् ।
उनले माओवादी केन्द्रले गरेको कारबाही मान्य नहुने भन्दै सांसद बहाल रहन पाउनुपर्ने पूर्व माओवादी नेताहरू लेखराज भट्ट, प्रभु साह, गौरी शंकर चौधरी र टोपबहादुर रायमाझीले सर्वोच्चलाई ढाटेको बताएइका हुन् ।
‘एकातिर सर्वोच्च अदालतमा लिखित रूपमा हामी एमाले होइनौं भनेका छन्, यसबारे एमालेले के धारणा बनाउने हो तय हुनुपर्छ,’ उनले भने, ‘हिजोसम्म ओलीको बैठकमा बसिरहेका छन्, फेरि हामी माओवादी नै हौं पनि भन्छन् ।’
उनले अदालतमा लिखित रूपमा गइसकेपछि एमालेले चूपचाप बस्नु पनि नालायकी हुने खतिवडाले बताए । उनीहरू खुलेआम एमालेको गतिविधिमा संलग्न छन् तर पनि अदालतलाई ढाँटिरहेका छन् ।
यसअघि गत वर्ष पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि भट्ट, साह, रायमाझी र चौधरीले मन्त्री पदको लोभमा ओलीलाई सघाउँदै आएका थिए ।
कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ बाट निर्वाचित चौधरीलाई माओवादीले गरेको कारबाहीका आधारमा पदमुक्त गरेको सभामुख अग्निप्रसाद सापकोटाले चैत २६ को प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका थिए ।








