शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा एमालेको माधव नेपाल समूह सहभागी हुने भएको छ। नेपाल समुहका एक नेताका अनुसार अब छिट्टै यो समूह सरकारमा जाने निश्चित भएको हो। उनका अनुसार नेपाल समुह पनि सरकारमा सहभागी हुने भएकैले प्रधानमन्त्री देउबाले मन्त्रीमण्डल बिस्तार गर्न ढिलाई गरेका हुन । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एमाले) का प्रभावशाली युवा नेता जगन्नाथ खतिवडाले पनि एमाले सरकारमा जान सक्ने सम्भाबना औल्याएका थिए ।
सांसदहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, प्रेम आले र किसान श्रेष्ठको नाम मन्त्रीका लागि पठाइएको स्रोतको दावि रहेको छ । यीबाहेक राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटा, नगेन्द्र चौधरी र डा. विजय पौडेल पनि मन्त्रीको आकांक्षी रहेका छन् ।
नेपाल पक्षले शुक्रबारभित्र सरकारमा सहभागी हुनेगरी ६ मन्त्री र मन्त्री बन्ने लाइनमा रहेका चार जनागरी दसजनाको नाम छनोट गरिएको हो।दलसम्बन्धी ऐन बाधक बने गैरसांसद र ऐन बाधक नबने सांसदहरू नै मन्त्री बन्नेछन्। दलसम्बन्धी ऐनले रोकेमा पनि सांसदहरू प्रेम आले र किसान श्रेष्ठ भने मन्त्री बन्ने भएका छन् ।
सत्ता गठबन्धनमा रहेका अरु पार्टीलाई पनि स्थान दिनुपर्ने भएकाले नेपाल समूहले ६ मन्त्रालय मात्र लिने गठबन्धनका शीष नेताहरूबीच सहमति भएको छ। तर, नेपाल समूह आगामी शुक्रबारपछि मात्रै सरकारमा सहभागी हुँदैछ।
समूह अहिलेनै सरकारमा नजानुको कारण अरु के–के हुन सक्छन् भन्ने प्रश्नमा एक नेताले भने ‘हामीलाई अहिले पनि एमाले नै भनेर सांसद सचिवालयले चिन्छ, बहुमत केन्द्रीय सदस्यले कारबाही गरे हाम्रो समूहबाट मन्त्री बन्ने सांसदको पद जान्छ, त्यसैले हाम्रो समूह पार्टी नफुटी वा अर्को दल नभई मन्त्री बन्न ऐन बाधक रहेको छ।
अर्को चाहिँ हाम्रो समूहले केन्द्रीय सदस्यको बैठक पर्खिएको हो, केन्द्रीय कमिटीको बैठकपछि हाम्रो समूह सरकारमा सहभागी हुन्छ,’ ती नेताले भने।








