काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केही समयका लागि बैठक स्थगित गरिएको छ ।
केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ । छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए । नेताहरूको प्रश्न र जिज्ञासाको जवाफ दिन स्थायी समिति बैठक बसेको र छलफलपछि नेता नेपालले जवाफ दिने तयारी भएको गैरेले जानकारी दिए ।








