एमालेको विघटित कार्यदलका नेताहरु छलपलमा जुटेका छन् । आइतबार बिहानैबाट पार्टी एकताका लागि कार्यदलका सदस्यहरु बिच छलफल भइरहेको छ ।
गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको र बेलुकासम्म कुनै परिमाण आउनसक्ने बुझिएको छ ।
गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।
यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिकबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।
यस्तै एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ ।
आवश्यक तयारी पुरा नभएकाले एक दिन पर सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् ।
‘केही तयारी पुरा भएन । अर्कोतर्फ माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारिएको हो’, एमाले केन्द्रीय सदस्य तथा कार्यलय सचिव शेरबहादुर तामाङले भने,‘धेरै दिन सार्न समय छैन ।’








