हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा हुनुपर्छ, अनि पारदर्शी हुन्छ : खिमलाल देवाकोटा



काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवाकोटाले हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा देवकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउन मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने बताएका हुन् ।

‘यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका काम कारबाहीको बारेमा जाकारी दिन कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस् । गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन । शासकहरू पारदर्शी भएनन्, उनले भने ।’

शासन व्यवस्था परिवर्तन भएपनि जनताले राज्यबाट अपेक्षा गरेअनुसारको सेवा नपाएको गुनासो सर्वत्र रहेको देवकोटाको भनाइ थियो । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंगहरू निरन्तर क्रियाशील हुनुपर्ने उनले बताए । त्यसैगरी राज्यका अंगहरू रचनात्मक, पारदर्शी र जवाफदेही हुन पनि आवश्यक रहेको उनको धारणा थियो ।

राज्यका अंगहरू पारदर्शी भएमा जनताले सबै कुरा देख्ने र ती अंगमा बस्ने पदाधिकारीले गलत काम गर्न नपाउने देवकोटाले बताए । ‘पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागज मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन,’ उनले भने ।

कर्मचारीका हरेक कोठामा सीसी क्यामेरा राखेमा उनीहरूका अनावश्यक क्रियाकलापमा बन्देज लाग्ने देवकोटाले बताए ।

त्यस्तै, कर्मचारीले राति कार्यालयमा बसेर नीतिगत भ्रष्टाचार र ठेक्कापट्टाका कागजपत्र मिलाउनेजस्ता कानुन विपरीतका काम गर्ने प्रवृतिको अन्त्य हुने पनि उनको भनाइ छ ।

यस्तो गर्दा दूरदराजदेखि समस्यामा परेर आएका जनताले आफ्ना कुरा सुनाउन पाउने र कर्मचारीमा जवाफदेही भावनाको विकास पनि हुने भन्दै संघ, प्रदेश र स्थानीय तहका कर्मचारीका कोठा/कोठामा सीसी क्यामेरा राख्न उनले सुझाव दिएका हुन् ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  २ : ४५ बजे