नेकपा एमालेको सोमबार बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष वामदेव गौतमको बिचारमाथि नेताहरुबीच चर्काचर्की भएको छ ।
साउन २५ गते राष्ट्रियसभा बैठकमा उपाध्यक्ष गौतमले भूमिमाथिको निजी स्वामित्वको अन्त्यबारे दिएको अभिव्यक्तिलाई लिएर केशव बडालले आपत्ति जनाएका थिए । जवाफ स्वरुप नेता गौतमले भूमिमा राजकीय कृषिफर्महरु विकास गरी उत्पादन गर्नुपर्ने बताएका थिए ।
‘नेता गौतमले अहिले भूमि आयोगबाट जग्गा वितरण गरेर समाधान गर्न सकिँदैन भूमिपतिहरुलाई चलनचल्तीको मुल्य तिरेर सरकारले जग्गा किन्नुपर्छ र सरकारले त्यो भूमिमा राजकीय कृषिफर्म विकास गरी उत्पादन गर्नुपर्छ साथै भूमिमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्छ भन्ने सन्दर्भमा बोलेको हु’ नेता गौतमको भनाइ उद्धृत गर्दै बैठकमा सहभागीए नेताले बताए ।
तर नेता बडालले भने आन्दोलन विरोधी बोलेको भन्दै चर्को स्वरमा विरोध गरेका थिए । उपाध्यक्ष गौतमले यसबीचमा पार्टी अध्यक्षका अभिव्यक्तिबारे प्रसंग कोट्याउँदै अध्यक्षका अधिकारबारे केही बुँदा थप्न पनि प्रस्ताव गरेका थिए ।
आममाफी, पार्टी अनुशासनात्मक कारवाही शिर्षक अन्तर्गत केही बुँदा थप्नुपर्ने उपाध्यक्ष गौतमको भनाइ थियो । अध्यक्षले के भन्न पाउने र के नपाउने भन्नेबारे विधानमा व्यवस्था गर्नुपर्ने बारे पनि गौतमको प्रस्ताव थियो । सोमबार तूलसीलाल स्मृति भवनमा बसेको स्थायी समिति बैठकपछि केन्द्रीय कमिटी बैठक सोमबारका लागि नै तयारी गरिएको छ ।








