राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले नेपाली काँग्रेसको चिन्ता नलिन आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले काँग्रेसको चिन्ता अन्य पार्टीले गरेको देख्दा उहाँहरु काँग्रेसमै प्रवेश गर्दैहुनुहुन्छ कि जस्तो लागेको बताएका हुन् ।
उनले प्रतिपक्षी सांसदतिर लक्षित गर्दै बालुवाटारमा रातारात भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भित्र्याएपछि चुच्चे नक्शा कसले लुकाएको भनेर प्रश्न गरेका छन् ।
उनले दुई तिहाई बहुमतको नजिक पुगेर पनि सरकार चलाउन किन नसकेको भनेर प्रतिपक्षका सांसदहरुलाई प्रश्न गरे । अहिले काँग्रेसले नचाहँदा नचाहँदै पनि सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको र त्यसको श्रेय ओलीलाई नै जाने उनले प्रस्ट पारे ।
संसद विघटन गरेर संसदलाई समाप्त पार्न चाहने, संविधानलाई मास्न खोज्ने गरेकै कारण ओलीलाई आफ्नै पार्टीका सांसदहरुले सत्ताबाट हट्न भनेको उल्लेख गर्दै प्रतिनिधिसभाका बहुमत सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका कारण देउवाले सरकारको नेतृत्व गर्नुपरेको उनले प्रस्ट पारे ।
‘कोभिड महामारीका बीचमा पनि सरकारले भ्रष्टाचार गर्न थाल्यो, जनताको सुरक्षालाई ध्यान दिएन । संविधान मिच्यो । संसद विघटन गरिरह्यो । त्यसपछि बाध्य भएर जनताको सुरक्षा र संविधानको रक्षाका लागि काँग्रेसले सांसदहरुकै समर्थनमा सरकारको नेतृत्व लिएको हो,’ उनले भने ।
ओलीलाई एमालेका सांसद खिमलाल भट्टराईले ‘राजनेता’ भनेकोप्रति लक्षित गर्दै रायमाझीले भने, ‘भ्रष्टाचारी राजनेता भन्नुस्, भ्रष्टाचारको राजनेता भन्नुस्, स्वीकार्न तयार छु ।’








