नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हटेकोमा आफुलाई चिन्ता नरहेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएपनि असाधारण जनमतका साथ मूल गेटबाट फेरी प्रधमानमन्त्री बन्ने दावि गरेका हुन् ।
उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’ उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’
२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले आज पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’








