प्रदेश प्रमुखलाई गठबन्धनका नेताहरुले बुझाए हस्ताक्षर



लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनका नेताहरुले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको छ। बिहबिार मुख्यमन्त्रीमा दाबी गर्दै चार दलीय गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई ४२ सांसदको हस्ताक्षर बुझाएको हो ।

गठबन्भनले माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेको छ । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

गठबन्धनका ४१ र एक सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदले हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयभित्रै गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।

मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ।

प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहिबार  ११ : ५० बजे