एमाले अध्यक्ष ओलीले सांसद पदबाट राजिनामा दिनुपर्छ : मातृका यादव



नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले अधयक्ष केपी ओलीलाई सांसद पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले परमादेशबाट सरकार बनेको भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका हुन् ।

‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा यो सरकारले चुनाव गराउछ ।’

यस्तै उनले परमादेशबाट आएको सरकार भन्ने सांसदलाई सरकारले ६ महिनामा चुनाव गराइदिने बताए ।

‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले’ उनले भने, ‘उहाँहरुलाई त्यो भुत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’

 

 

 

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहिबार  ४ : १३ बजे