नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गरेपनि तत्काल नियुक्तिहरु नगर्न आग्रह गरेको छ ।
नेपाल पक्षले सत्तारुढ गठबन्धनलाई केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिनआग्रह गरेको हो ।
नेपालपक्षका केही नेता र सांसदहरुले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीलाई भेटेर आफूहरू एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका छन् ।
शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले ‘यत्रो दुखः गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरू गर्दा आफूहरूले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए ।
सरकारले ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी गरेको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।
यता विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार बिहान स्थायी कमिटीको बैठक बसिरहेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसको महाधिवेशन सरेसँगै प्रधानमन्त्री शेरबहादुुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
माओवादी बैठकमा पार्टीको संगठन सुद्रिढीकरणको लागि गर्ने कामको एजेण्डा पनि छन् ।
पार्टीको अधिवेशन आगामी पुस महिनामा गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार केन्द्रीय कमिटी बैठकमा प्रस्ताव राखेका थिए ।








