नेकपा माओवादी केन्द्रले पूर्णकालीन पदाधिकारी र सदस्यको खर्च पार्टीले व्यहोर्ने प्रस्ताव गरेको छ । आइतबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेश गरिएको अन्तरिम विधान प्रस्तावमा सो कुरा उल्लेख गरिएको हो ।
‘परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ,’ अन्तरिम विधानको धारा ६६ मा उल्लेख छ ।
माओवादीमा भूमिगत समयमा पूर्णकालीन (होलटाइमर) लाई खर्च दिने गरेपनि पार्टीको विशेष काममा खटाउँदाको खर्च पनि पार्टीले व्यहोर्ने प्रस्ताव गरिएको छ ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ । महाधिवेशनले अनुमोदन गरेपछि मात्र यो व्यवस्था कार्यान्वयनमा आउने छ ।








