एमालेलाई यी सांसदले दिए चुनौति, किन भने यस्तो



लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले नेकपा एमाले जारि गरेको ह्वीप आफूलाई नलाग्ने बताएका छन् । एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै उनले आफु स्वतन्त्र सांसद भएकाले ह्वीप नलाग्ने बताएका हुन् ।

शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् । एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो ।

२०७४ को आम निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुंदे सहमतिमा पनि ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख छ । ‘आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम हो,’ शाहीले भने, ‘कार्य क्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’

शाही साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए । एमालेको संसदीय दलको वैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आइतबार  १ : ५९ बजे