राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने उद्देश्यले शुरू गरिएको गरिखाने अभियानलाई देशभर विस्तार गर्नुपर्नेमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले जोड दिएका छन् ।
नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ले आयोजना गरेको अन्तक्र्रियामा सहभागी जिल्ला सभापतिहरूले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यस अभियानलाई देशव्यापी बनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा समितिका सभापति एवं सांसद विनोद चौधरीले युवालाई उद्यमशील बनाएर मात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । ‘प्रजातन्त्र स्थापनासँगै २०४८ सालको आमनिर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अंगीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ,’ उनले भने, ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।’
सभापति चौधरीले हरेक वर्ष ४ लाख युवा श्रम बजारमा आउने भए पनि देशभित्र मुस्किलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको अवस्थामा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन गरिखाने अभियान सञ्चालन गरेको उल्लेख गरे ।
उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने उल्लेख गरे ।








