संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्य



सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रपति कार्यालयबाट संघीय संसदलाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउदै अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको जानकारी गराएका हुन् ।

साउन ३ गते सुरु भएको प्रतिनिधिसभाको अधिवेशन जम्मा २९ दिन चल्यो र शून्य विशेष समयमै व्यतीत हुन पुग्यो।

प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् ।

यस्तै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई सरकारले पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराजलाई पदमुक्त गर्दै महोत्तरीका हरिशंकर मिश्रलाई बनाउने निर्णय गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा मिश्रलाई बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

गृहमन्त्री बालकृष्ण खाणले आज बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताए।

मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ३ : ५७ बजे