नेकपा एमाले विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गरेसंगै एमाले विभाजन भएको हो ।
बुधबार निर्वाचन आयोगमा पुगेर नेता नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ता गराएका हुन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।
पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।
एमाले (समाजवादी)को केन्द्रीय कमिटी ९५ सदस्यीय हुने भएको छ ।
६६ जना एमालेका पुराना केन्द्रीय सदस्य र नयाँ २९ जना सदस्य सहित ९५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको एक सदस्यले जानकारी दिए । एमालेका २०३ केन्द्रीय सदस्य मध्ये ६६ जना नेपालको पक्षमा खुलेका छन् ।
९५ सदस्यीय केन्द्रीय कमिटीमा एमाले स्थायी कमिटीका माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्र छन् । यसअघि माधव नेपाल पक्षबाट कार्यदलमा रहेका पाँचै सदस्य ९५ सदस्यीय केन्द्रीय कमिटीमा छैनन् ।








