जसपा कार्यकारिणी समितिको बैठक बस्दै



जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । अँइतबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिले केही बेरमा सुरु हुने भएको हो ।

बैठकमा जसपा फुटको आधार र कारणबारे एउटा ‘न्यारेटिभ’ निर्माण गर्ने तयारी भएको छ । मधेसकेन्द्रित दलहरू सधैँ फुट्छन् भन्ने ठाउँबाट सबै एक भएको इतिहास केही व्यक्तिको सत्ताकेन्द्रित सोचका कारण भाँडिएको भन्दै त्यसबारे नेता–कार्यकर्तालाई सूचित गर्दै जनतासम्म पुर्याउने उसको तयारी छ ।

आजको बैठकले नेताहरूको पद तथा कार्यविभाजन पनि गर्ने नेता इस्तियाक राईले जानकारी दिए । जसपाको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दुई अध्यक्ष र वरिष्ठ नेता दुइ भएको जसपा एकमै सीमित भएको छ । वरिष्ठ नेता राजेन्द्र महतो बाहिरिएपछि अशोक राई मात्र छन् ।

अबको पार्टी संरचना कस्तो बनाउने र नेताहरूलाई के जिम्मेवारी दिने भन्ने विषयमा पनि बैठकले छलफल गर्ने राईले बताए ।

यसबाहेक समसामयिक राजनीतिका विषयमा पनि छलफल गरिने भनिएको छ । जसपा बैठकमा सबैभन्दा पेचिलो विषय भनेको यही नै हो ।

जसपा चाँडै सरकारमा जाने हुँदा मापदण्डका आधारमा मन्त्री छनोट गर्ने वा नेतृत्त्व तहलाई मन्त्री छान्ने अधिकार दिने भन्ने विषयमा कार्यकारिणी समितिका सदस्यहरूबीच नै मतभेद छ । पार्टीले मापदण्ड बनाउँदा मन्त्री बन्ने सूचीमा नपर्नेहरू अध्यक्षलाई नै निर्णय गर्न दिनुपर्ने तर्क गरिरहेका छन् ।

प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार  २ : २४ बजे