बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा दिने तयारी गरेकी छन् । बुधबार मात्रै वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनका कारण अत्यन्त अफ्ठेरोमा परेको भन्दै राजिनामा दिने तयारी गरेकी हुन् ।
हतारमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेललाई राजिनामा गराई शाक्यलाई संसदिय दलको नेता हुँदै मुख्यमन्त्री बनाएको थियो ।
उनी मुख्यमन्त्री बनेकै दिनदेखि एमाले विभाजनले औपचारिकता लिएको थियो ।
माधव नेपाल समुहमा लामो समय काम गरेकी नेतृ शाक्य ओलीको कट्टर आलोचकको रूपमा चिनिएपनि पछि पछिल्लो समय मुख्यमन्त्री पदकै लागि नेपालको साथ छोडेर ओली समुहमा लागेकी चर्चा चलेको थियो ।
माधव नेपाल समुहका नेताहरूले अब नेपाल समुहमा खुल्न दवाव दिइरहेका बेला उनी धर्मसंकटमा परेकी छन् । उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको बहुमत नपुग्ने पक्का छ ।
वाग्मती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन ।
त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ । वााग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो ।
अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेका छन् । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हुन्छ ।
नेपाल समुहले भने अष्टलक्ष्मी आफ्नो पार्टीमा नआएको खण्डमा उनलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।
पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने तयारी थालिएको हो। प्रदेशसभामा पाण्डेका अतिरिक्त मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, शान्ति पौडेल, पार्वती सिलवाल र रमा आले मगर नेपाल समुहमा खुलेका छन् ।








