नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक सकिएको छ । सोमबार बतीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षका नेताहरुको बैठक सकिएको हो ।
आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठकमा सभापतिका आंकाक्षी रामचन्द्र पौडेल, शंशाक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहका साथै सुजाता कोइराला, अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, जीवन परियारलगायतका नेताहरु सहभागी थिए । बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा आंकाक्षीबीच छलफल भएको बताइएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणसिंह बस्नेतको संयोजकत्वमा बसेको बैठकमा सहभागी एक नेताका अनुसार साझा उम्मेदवार चयनका लागि पटक पटक रणनैतिक बैठक बसेर समूहबाट साझा उम्मेदवार बनाउने सहमति भएको छ ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद अझै समाधान नहुँदा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन गरिएको छ ।
पछिल्लोपटक कांग्रेसले मंसिर ९–१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको तीन सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।








