बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफूहरूको मूल नेतृत्व ओली नै भएको बताएकी छन्। सोमबार बालकोट पुगेकी शाक्यले आफूहरूको साथ ओलीलाई नै रहने बाताएकी हुन् ।
‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ–आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि !’
पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान सक्ने शक्ती पार्टी अध्यक्ष ओलीमा भएको बताइन ।
‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौं ।’
बालकोट पुगेका नेताहरूसँग ओलीले भोलि नै बैठक बसेर १० बुँदे कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका थिए । शाक्यले ओलीले बैठक बसेर छलफल अगाडि बढाऔं भनेको कुरा सकरात्मक भएको बताइन् । विगतमा कसले के गर्यो भन्ने कुरा बिर्सेर पार्टी जोगाउनु पर्ने शाक्यको भनाइ थियो ।
‘हिजो कहाँ के–के भयो सबै छाड्दिनुहोस् । त्यता जाँदा फेरि पनि घाउ बल्झिन्छ, त्यता नजाँदा नै राम्रो हुन्छ’, उनले भनिन् ।
माधव नेपालले नयाँ पार्टी बनाउन हतार गरेको शाक्यले बताइन् ।
‘माधव नेपाल यति छिटो नजानुपर्ने हो । हामी त पर्खेका छौं । युवाहरू पर्खेका छन् । माधव नेपाललाई ल्याउनैपर्छ, एकताबद्ध बनाउनैपर्छ । वामदेव गौतम अस्तिको बैठकमा आउनुभयो भन्ने छ । झलनाथ कमरेड बिरामी हुनुहुन्छ । जो–जो नेताहरू हुनुहुन्छ, सबै एकताबद्ध भएर जुरूक्क उठ्नुपर्छ’, छलफलमा शाक्यले भनिन् ।
पार्टीको तल्लो तहमा समेत विभाजन आएको भन्दै उनले आगामी निर्वाचनमा राम्रो नतिजा नदिने शाक्यले विश्लेषण छ ।
‘यत्रो संघर्ष गरेर आन्दोलनमा लाग्यौँ, हाम्रो भविष्य के हुने हो भन्ने ठूलो चिन्ता तल्लो तहसम्म दुवै पक्षमा छ । तल्लो तहकै पंक्तिले आन्दोलन गर्ने हो, निर्वाचनमा खट्ने हो । उनीहरूकै कारण हामी नेतृत्व गर्ने अवस्थामा छौं । त्यसैले तल्लो तहका पंक्तिलाई केही पनि होइन भन्नुहुँदैन’, उनले ओलीसँगको छलफलमा भनिन् ।
स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले पनि सबै नेतालाई एकजुट बनाउनुपर्ने शाक्यको भनाइ थियो ।
‘अत्याधिक तहमा एमालेले जित्नै पर्छ । त्यसका लागि तयारी गर्न पनि ढिलो भइसक्यो । फराकिलो मन गरेर मिलौं । माधव, झलनाथ, वामदेव सबैलाई एकै ठाउँमा ल्याउने काम गरौं,’ उनले भनिन् ।








